फागुन ५देखि १० गतेसम्म सञ्चालन हुने नेकपा एमालेको आठौं महाधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई माओवादी नजिक जान नदिन दक्षिणपन्थीहरुले खेलीरहेको बताएका छन् । एमालेको आठौं महाधिवेशन उद्घाटन कार्यक्रममा फागुन ५ गते बोल्दै प्रधानमन्त्री दाहालले एमालेलाई ‘प्रतिकान्तिकारी तागतको गोटी’ नबन्न सजग रहन सुझाव दिए । बुटवलमा जारी महाधिवेशन एमालेको मात्रै नभई सिङ्गो देशको महाधिवेशन भएको प्रधानमन्त्रीको भनाई थियो ।
काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमती सहकार्य र एकताको विकल्प नभएको भन्दै एमाले महाधिवेशनबाट नयाँ सहमतीको शुरुवात भएको धारणा राखे । कोइरालाले नयाँ सहमतीलाई कायम राख्दै संविधान निर्माणमा एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गरे ।
एमाले महासचिव झलनाथ खनालले शान्ति प्रकि्रया नयाँ संविधान निर्माण समान्तवादको अन्त्य राज्यको पुनरसंरचना तथा राष्ट्रिय एकता मजबुत पार्न आवश्यक रहेको बताए । खनालले प्रधानमन्त्री दाहाललाई आफूले बोलेका कुरा व्यवहार उतार्न आग्रह गरेका थिए ।
महासचिव खनालले आफ्नो पार्टीमा भएको अराजकता गुटबन्दीको तत्काल अन्त्य हुनुपर्ने बताए ।
एमाले पूर्व महासचिव माधवकुमार नेपालले जनताको बहुदलीय जनवादले कम्युनिष्ट एक दलियतामा प्रहार गरेर लोकतान्त्रिक गणतन्त्र अंगालेको धारणा राखे । उनले पार्टी भित्र रहेका अनुचित षडयन्त्र गुटबन्दीबाट सचेत रहनु पर्ने बताए ।
एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले आमूल परिवर्तनको नाममा एमाले वामपन्थी ध्रुवीकरण तथा लोकतान्त्रिक गठबन्धनको नाममा यथास्थितिवादी ध्रुवीकरणको पक्षमा नरहेको बताए ।
महासचिव खनालले महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट ल्याइएको दीप प्रज्जवलन गरेर महाधिवेशन उद्घाटन गरेका थिए ।
कार्यक्रममा संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवास नेम्वाङ्ग मधेशी जनअधिकार फोरमका अध्यक्ष तथा परराष्ट्र मन्त्री उपेन्द्र यादव पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा सद्भावना पार्टी अध्यक्ष समेत रहेका वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतो लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।


प्रतिकृया